झापा, १० कात्तिक । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुँदै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना रहेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन्।
‘अर्णव’ नाम दिइएको उक्त चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी, चट्याङ तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

चक्रवात सोमबार भारतको आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढेको बताइएको छ। सुरुमा प्रतिघण्टा १५ किलोमिटरको गतिमा पश्चिमतर्फ सर्दै गएको चक्रवात थप शक्तिशाली बन्न सक्ने अनुमान गरिएको छ।
भारतीय मौसम विभागका अनुसार चक्रवातले आन्ध्र प्रदेश र ओडिसाका तटीय क्षेत्रमा प्रभाव पार्ने सम्भावना छ। यसको वायुको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्ने र थप शक्तिशाली बनेमा प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्ने प्रक्षेपण गरिएको समाचारमा उल्लेख छ।
मौसमविद्हरूका अनुसार चक्रवातको प्रभाव अन्य मौसमी प्रणालीसँग मिसिएर नेपालसम्म आइपुग्न सक्नेछ। मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि यसको प्रभाव देखिन सक्ने र बिहीबारदेखि देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
मौसमविद् माधुरी सिग्देलका अनुसार चक्रवातको प्रभावले हावाहुरी, चट्याङ र वर्षा गराउनुका साथै हिमाली क्षेत्रमा भीषण हिमपात हुन सक्छ। हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेछ।
शनिबारसम्म सतर्कता अपनाउन आग्रह
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकासहित कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई शनिबारसम्म विशेष सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाले पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै बुधबारसम्म धानबाली भित्र्याउन किसानलाई सुझाव दिएको छ। प्रतिकूल मौसमको सम्भावना रहेकाले यस अवधिमा हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण नगर्न पनि मौसमविद्ले आग्रह गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत अपिल जारी गर्दै चक्रवातको सम्भावित प्रभावबाट सुरक्षित रहन नागरिकलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि यसको प्रभाव बढी पर्न सक्ने अनुमान गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, आवश्यक सतर्कता अपनाउन तथा प्रतिकूल मौसममा अनावश्यक यात्रा नगर्नु उपयुक्त हुनेछ।



