झापा, १० कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। राति भने देशभर आंशिक बदली हुने सम्भावना छ।

बुधबार देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
बुधबार राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन, वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न सुझाव दिइएको छ।



