झापा, १० कात्तिक । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने करिब तीन हजार जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका हुन्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको छ।

दुर्घटनामा परी दुई हजार ९८८ जना घाइते भएका छन्। घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्।
कोशी प्रदेशमा सबैभन्दा बढी दुर्घटना
प्रहरीको तथ्याङ्कअनुसार दसैँ अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा भएका छन्। यस प्रदेशमा ३९७ वटा दुर्घटना भएका छन् भने सबैभन्दा कम मधेस प्रदेशमा ८० वटा दुर्घटना भएका छन्।
यस अवधिमा काठमाडौँ उपत्यकामा १७१, बागमती प्रदेशमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन्।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन संलग्न थिए।
गत वर्षको दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए।
दसैँ अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ जना चालक रहेका छन्।
त्यस्तै, यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीसाधनको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ जना चालक कारबाहीमा परेका छन्।
प्रवक्ता काफ्लेका अनुसार चाडपर्वका बेला लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत प्रहरीले देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरेको थियो। अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगमार्फत सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो।
दसैँपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको जनाएको छ।



