झापा, २७ असार । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राई रहेका छन् ।

प्रहरीका अनुसार कुनसाङले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख सात हजार, धनबहादुरले जर्जिया पठाइदिने भन्दै रु दुई लाख ९५ हजार, उमेशले बेलारुस पठाइदिने भन्दै रु पाँच लाख, सचिताले रोमानिया पठाइदिने भन्दै रु एक लाख ५० हजार तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जनाबाट रु सात लाख ९० हजार ठगी गरी सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानीलकण्ठ नगरपालिका–२, धनबहादुरलाई तारकेश्वर नगरपालिका–८, उमेशलाई टोखा नगरपालिका–५, सचितालाई काठमाडौँ महानगरपालिका–३ र निरोजलाई काठमाडौँ महानगरपालिका–४ बाट पक्राउ गरेको हो। कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



