झापा, २८ असार । अतिरिक्त समयमा दुई गोल गर्दै अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न क्वार्टरफाइनल खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा अग्रता जोगाएको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर। रोड्रिगेजमार्फत बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा भने अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्यो। जुलियन अल्भारेजले टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दिलाए भने खेलको १२०औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल थप्दै अर्जेन्टिनाको ३–१ को शानदार जित सुनिश्चित गरे।
स्विट्जरल्यान्ड भने एक खेलाडी कम भएपछि दबाबमा परेको थियो। अर्जेन्टिनाका खेलाडीविरुद्ध फाउल गरेपछि स्विट्जरल्यान्डका बी। इम्बोलालाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए, जसपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।
यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको छ। आजै बिहान सम्पन्न अर्को क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।



