कपिलवस्तु, १० साउन । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे.१ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात सदस्यीय टोली घटनास्थल पुगेको थियो। घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइए पनि उपचारकै क्रममा आइतबार राति १ः५० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै खुल्न सकेको छैन। उनीहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।
दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ निवासी २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ। बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ निवासी २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।



