झापा, १० साउन । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएपछि कोसी प्रदेशको सत्ता समीकरण पनि परिवर्तन हुने भएको छ। नयाँ सहमतिसँगै हाल सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित देखिएको छ।
हाल कोसी प्रदेशमा एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा कांग्रेस–एमाले गठबन्धन सरकार छ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार कोसी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्नेछ।

यद्यपि सत्ता समीकरण परिवर्तनसँगै मुख्यमन्त्री कार्कीको स्थानमा एमालेकै नेता तथा कोसी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन सकारात्मक रहेको चर्चा सार्वजनिक भएपछि यस विषयले थप चासो पाएको हो।
हालका मुख्यमन्त्री कार्कीले भने सरकार परिवर्तन वा आफूलाई मुख्यमन्त्रीबाट हटाउने विषयमा पार्टीबाट कुनै आधिकारिक जानकारी नआएको बताएका छन्। उनले पार्टीको निर्णयअनुसार अघि बढ्ने उल्लेख गर्दै वर्तमान परिस्थितिमा सरकारलाई निरन्तरता दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। साथै, पार्टीले पद छाड्न निर्देशन दिए आफू त्यसका लागि तयार रहेको पनि बताएका छन्।
उता, मुख्यमन्त्री पदका सम्भावित दाबेदार तिलकुमार मेन्याङ्बोले शीर्ष नेतृत्वसँगको छलफल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै आवश्यक निर्णय भए नेतृत्व सम्हाल्न आफू तयार रहेको बताएका छन्।
यद्यपि कोसी प्रदेशको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा फरक रहेकाले मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिने विकल्पमाथि पनि एमालेभित्र छलफल भइरहेको बताइन्छ। अन्तिम निर्णय भने एमालेको शीर्ष नेतृत्वले गर्ने जनाइएको छ।
एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली मुख्यमन्त्री कार्कीलाई परिवर्तन गर्ने पक्षमा रहे पनि अन्य पदाधिकारी भने निरन्तर राख्ने विषयमा पार्टीभित्र फरक मत रहेको बताइएको छ।
मुख्यमन्त्री कार्की २०८१ वैशाख २७ गतेदेखि कोसी प्रदेश सरकारको नेतृत्व गर्दै आएका छन्।
यसैबीच, नयाँ सत्ता समीकरणअनुसार नेपाली कांग्रेसका मन्त्रीहरूले आजभोलिभित्रै राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ। हाल कोसी प्रदेश सरकारमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार (भौतिक पूर्वाधार विकास), मानबहादुर लिम्बु (स्वास्थ्य), भीम पराजुली (पर्यटन, वन तथा वातावरण), इसराइल मन्सुरी (उद्योग, कृषि तथा सहकारी) मन्त्री तथा शोभा पालुङ्वा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा रहेका छन्।



