
झापा, १९ साउन । झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रमा प्रहरीले अवैध रूपमा भन्सार छली गरी भण्डारण गरिएका २४ लाख ११ हजार ८१० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टाको संयुक्त टोलीले कोपिला तामाङको भाडाको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका २० बोरा र २० कार्टुन सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानमा कपडाका विभिन्न सामग्री, मोटर पार्ट्स तथा इलेक्ट्रोनिक्सका सामग्री रहेका छन्।
बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


