झापा, २० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरी नेपालको तराई क्षेत्र नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने विभागले जनाएको छ।
यसैबीच, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा, साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।



