इलाम, २२ साउन । मेची राजमार्गअन्तर्गत माईखोला–राजदुवाली सडकखण्ड वर्षौंदेखिको पहिरो समस्याबाट मुक्त हुन सकेको छैन। पछिल्लो पटक करिब एक महिनादेखि सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारण दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी ओसारपसारसम्म कठिनाइ भोग्न बाध्य भएका छन्।
२०७२ सालयता यो सडकखण्डको मर्मतमा करोडौँ रुपैयाँ खर्च भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। हाल २ करोड १४ लाख रुपैयाँभन्दा बढी लागतमा कङ्क्रिट वाल, ग्याबिन वाल, ड्रेनेज, सोलिङ तथा ग्राभेल गर्ने काम जारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। लगातारको वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको कार्यालयको भनाइ छ।

स्थानीयवासीले भने पटक–पटक मर्मतमा ठूलो रकम खर्च गर्नुको सट्टा दीर्घकालीन समाधानका लागि वैकल्पिक सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
यसैबीच, पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपमा ‘क्र्याक’ देखिएपछि त्यहाँबाट चुहिएको पानीले सडक थप कमजोर बनेको आशंका गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आयोजनालाई तत्काल मर्मत गर्न निर्देशन दिए पनि हालसम्म आवश्यक काम अघि नबढेको जनाएको छ।



