
इलाम, २३ साउन । मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीले सास्ती खेपिरहेका छन्।
गत असार २३ गते इलाम नगरपालिका–९ मा पहिरोसहित सडक भासिएपछि सडक अवरुद्ध भएको हो। वर्षाका कारण भासिएको सडकमा काम गर्न समस्या भएपछि सडक डिभिजन कार्यालय, स्थानीयवासी र सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गरिरहेका छन्।
सडक अवरुद्ध भएपछि यात्रुले माइखोला वारी–पारी करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ। बिरामी, अशक्त तथा ज्येष्ठ नागरिकलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्टेचरमा बोकेर वारपार गराउँदै आएका छन्। प्रहरीले असार १७ गतेदेखि सो क्षेत्रमा सहायता कक्षसमेत सञ्चालन गर्दै आएको छ।
वैकल्पिक सडकमा समेत पुल तथा डाइभर्सनको समस्या रहेकाले इलामबाट झापातर्फ सहज आवागमन हुन सकेको छैन। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानी खर्च बढेर सामान महँगिएको छ भने इलाममा खाना पकाउने ग्यासको अभावसमेत देखिएको स्थानीयले बताएका छन्।


