
झापा, २४ साउन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आइतबार दिउँसो करिब ४ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुर बजारमा दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ निवासी ५० वर्षीया मिरादेवी गौतमलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो। उनको उपचारका क्रममा आइतबार साँझ ४ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ निवासी ३१ वर्षीय गोपाल रम्तेल समेत घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको र सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।
उपचारपछि रम्तेललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा राखिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


