
बिर्तामोड, २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोड, झापाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
“प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता” तथा “आदिवासी जनजातिको पहिचान, स्वायत्तता र अधिकारको पूर्ण ग्यारेन्टी गरौँ” भन्ने नाराका साथ आइतबार बिर्तामोडमा दिवस मनाइएको हो।

दिवसको अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित र्याली निकालिएको थियो। “यूएनडीपी र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर”, “३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सफल पारौँ” लगायतका नारासहितको र्याली बिर्तामोडको मुक्ति चोकस्थित हनुमान सेन्टरबाट सुरु भएको थियो।
विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नाराबाजी तथा प्लेकार्डसहितको र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो। नगर परिक्रमा पश्चात् र्याली सिटी सेन्टरमा पुगेर सभामा परिणत भएको थियो। र्यालीको नेतृत्व महासंघका कोषाध्यक्ष सिके बेघाले गर्नुभएको थियो।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गर्नुका साथै सहिदहरूप्रति एक मिनेट मौन धारण गरी सम्मान गरिएको थियो। त्यसपछि आदिवासी गीत तथा विभिन्न जातजातिका सांस्कृतिक एवं मौलिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी अतिथि तथा विशिष्ट व्यक्तिलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० झापाका पूर्वअध्यक्ष भरत श्रेष्ठ, गनगार्ह समाज नगर अध्यक्ष द्रौपदी गणेश, राजवंशी समाज विकास समिति अध्यक्ष सिरतलाल राजवंशी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, सामाजिक व्यक्तित्व सुवास भट्टराई, मनु खेवाङलगायतले आदिवासी जनजातिको हकहित, अधिकार, पहिचान, संस्कृति तथा राज्यका विभिन्न संरचनामा समान सहभागिताका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले एक जातिको धर्म, संस्कृति तथा परम्परालाई अर्को जातिले सम्मानको दृष्टिले हेर्नुपर्ने बताउनुभयो।
उहाँले विविध जातजाति, भाषा, धर्म तथा संस्कृतिको सम्मान र संरक्षणबाट मात्रै समावेशी समाज निर्माण गर्न सकिने बताउँदै ३२औँ विश्व आदिवासी दिवसको शुभकामना दिनुभयो।
कार्यक्रमको समापन गर्दै नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीले दिवस सफल बनाउन सहयोग गर्ने व्यक्ति, संघ–संस्था, जातीय संगठन, स्थानीय तह, सुरक्षा निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन, बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाई, बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठक, शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे तथा विभिन्न जातीय संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा महासंघकी उपाध्यक्ष देवीमाया श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने आयोजक समितिका सचिव लीलाबहादुर गुरुङ र अन्जना राईले सञ्चालन गर्नुभएको थियो।
विभिन्न जातजातिका मौलिक झाँकी, सांस्कृतिक प्रस्तुति तथा र्यालीसहित मनाइएको दिवसले आदिवासी जनजाति समुदायको पहिचान, भाषा, धर्म, संस्कृति तथा अधिकार संरक्षणका लागि एकताबद्ध हुनुपर्ने सन्देश दिएको आयोजकले जनाएको छ।


