
बिर्तामोड, २५ साउन । निर्मल पुर्जा ‘निम्स दाइ’सहित ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका १० जना आरोहीको स्मृतिमा झापाको बिर्ताबजारमा पानी वितरण तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।
सैनिकमोड युथको आयोजना तथा अनारमनी सोसल युथ क्लबको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका साहसी आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र साहसको स्मरण गरिएको थियो।
कार्यक्रममा सहभागीले दिवंगत आरोहीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
अनारमनी सोसल युथ क्लबका अध्यक्ष राज मुखियाले ‘निम्स दाइ’सहित ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका सबै आरोहीप्रति सम्मान व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले युवाहरू सामाजिक उत्तरदायित्वप्रति सचेत हुँदै यस्ता मानवीय तथा श्रद्धाञ्जलीमूलक गतिविधिमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, सैनिकमोड युथका प्रतिनिधि सन्दीप लिम्बूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मनीष लिम्बू, दीपेश नेपाल र इन्सो बेघालगायत सैनिकमोड युथका सम्पूर्ण सदस्यप्रति विशेष आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। पानी वितरण तथा दीप प्रज्वलनमार्फत दिवंगत आरोहीप्रति सम्मान व्यक्त गर्दै सामाजिक एकता, मानवीय संवेदना तथा आपसी सहयोगको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।


