झापा, २५ साउन । झापामा सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको औषधि, किराना तथा लत्ताकपडासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ । कचनकवल गाउँपालिका–३ बगानस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ९ लाख ६७ हजार ३९० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका औषधिसहित एउटा ईभी गाडी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ९ जनाको गाडी मोबाइल टोलीले सोमबार बिहान १०ः५५ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको ईभी गाडीलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा गाडी चालक तथा सम्बन्धित व्यक्ति गाडी र सामान छाडेर फरार भएका थिए । त्यसपछि गाडी खानतलासी गर्दा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको विभिन्न प्रकारका पाँच कार्टुन औषधि फेला परेको हो ।
बरामद औषधिको मूल्य ९ लाख ६७ हजार ३९० रुपैयाँ र ईभी गाडीको मूल्य २१ लाख ५० हजार रुपैयाँ गरी कुल ३१ लाख १७ हजार ३९० रुपैयाँ बराबरको सामान तथा सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान तथा गाडी आवश्यक कारबाहीका लागि मंगलबार दिउँसो २ः५० बजे भद्रपुर भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
यसैबीच, मेचीनगर नगरपालिका–७ जोर सिमल र वडा नम्बर ६ स्थित भन्सार ढाटबाट पनि सशस्त्र प्रहरीले भन्सार छली ल्याउँदै गरेको किराना तथा लत्ताकपडासहित एउटा सिटी सफारी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको चेकप्वाइन्ट टोलीले विभिन्न सवारीसाधन चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको किराना तथा लत्ताकपडासहित प्रदेश १–०१–००२ ह ६७९६ नम्बरको सिटी सफारी नियन्त्रणमा लिएको हो।
बरामद सामान तथा सिटी सफारीको कुल भन्सार मूल्य ४ लाख ५५ हजार ७७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान तथा सिटी सफारी सोमबार दिउँसो ३ः१० बजे आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका निमित्त गणपति तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो ।



