झापा, २६ साउन । लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा भारी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाइएको छ।
माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाइएको हो। सडक मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई थप क्षति हुन नदिन र यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो।

“क्षतिग्रस्त सडक मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहअनुसार मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो,” अध्यक्ष नेम्बाङले भन्नुभयो, “अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक लगाइएको छैन।”
वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि मालवाहक सवारीसाधनको चाप र जाम बढ्दै गएको थियो। भारी सवारीसाधनका कारण मर्मतसम्भारको काममा समेत समस्या भएपछि सडक मर्मत सम्पन्न नभएसम्म मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।
दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि अझै पूर्ण रूपमा निर्माण हुन सकेको छैन। हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यस सडकबाट यात्रा गर्ने सर्वसाधारणले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
सडक कालोपत्र हुन नसक्दा वर्षायाममा दमकदेखि चिसोपानीसम्मको यात्रा जोखिमपूर्ण र कठिन बन्ने गरेको छ। सडकको दुरवस्थाका कारण झापा, इलाम र पाँचथरका स्थानीयवासीसँगै कृषि उत्पादन बजारसम्म पुर्याउने किसानसमेत प्रभावित हुँदै आएका छन्।
फाल्गुनन्द मार्गले झापालाई इलाम हुँदै पाँचथरसँग जोड्ने महत्वपूर्ण सडकका रूपमा काम गर्दै आएको छ। यसबाट तीन जिल्लाका हजारौँ नागरिकले दैनिक आवतजावत गर्ने गरेका छन्। लामो समयदेखि सडक निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासीले भने असन्तुष्टि जनाउँदै आएका छन्।



