पाँचथरदेखि बझाङसम्मका साना नदीमा बहाव बढ्ने, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह
झापा, २६ साउन । आज मंगलबार देशका विभिन्न जिल्लाका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित ३२ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले मंगलबार जारी गरेको बुलेटिनअनुसार पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटी तथा आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बाढीको जोखिम रहेको हो।

महाशाखाका अनुसार ती क्षेत्रका नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
विशेषगरी नदी तथा खोलाको तटीय क्षेत्र, खोला किनार आसपासका बस्ती, सडक तथा पुलपुलेसामा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लगातार वर्षा भइरहेका क्षेत्रमा साना खोलासमेत अचानक बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ।
महाशाखाले स्थानीय तह, सुरक्षा निकाय तथा सर्वसाधारणलाई नदी तथा खोलाको बहावमा आउने परिवर्तनप्रति सचेत रहन र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।



