कनकाई, २६ साउन । झापाको कनकाई नगरपालिकाबाट ९७ जनाले भूमि सम्बन्धी सेवा पाएका छन् ।
नगरपालिकाको भूमि प्रशासन शाखामार्फत् नगरका ९७ जनाले सेवा पाएको नगरपालिकाका भूमि शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिनुभयो । कनकाई नगरपालिकाले २०८३ असार ८ गतेदेखि भूमि प्रशासन सम्बन्धी सेवा शुरु गरेको थियो । साउन २२ गतेसम्म ९७ जनाले सेवा लिएको उहाँले बताउनुभयो ।

भूमि प्रशासनबाट धनीपुर्जा वितरण तथा जग्गापास कार्य सहज रूपमा भइरहेको उहाँले बताउनुभयो । “भूमि प्रशासन तथा मालपोत सेवा अन्तर्गत धनीपुर्जा वितरण तथा कित्ताकाट÷ जग्गापाससम्बन्धी कार्यहरू सहजरूपमा अघि बढिरहेका छन्”, उहाँले भन्नुभयो, “हालसम्मको अद्यावधिक तथ्याङ्क अनुसार कुल ९७ वटा जग्गापास सम्बन्धी रोक्का तथा पासका कामहरू सम्पन्न भइसकेका छन् ।”
भूमि प्रशासन कार्यालयबाट धनीपुर्जा वितरण तथा सेवा प्रवाहका क्रममा हालसम्म कुनै पनि जटिलता वा समस्या नदेखिएको र सेवाग्राहीहरूले सहज रूपमा सेवा प्राप्त गरिरहेको शाखाले जनाएको छ ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले लामो प्रयासपछि भूमि प्रशासन सेवा स्थानीय तहमा ल्याउन सफल भएको बताउँदै यसबाट नागरिकले सहज, छिटो र पारदर्शी सेवा पाउन थालेको बताउनुभयो । “यो सेवाले नागरिकमैत्री प्रशासनलाई थप सुदृढ बनाएको छ”, उहाँले भन्नुभयो । कनकाईमा १३ जना कर्मचारीले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहमा गरिरहेका छन् ।



