झापा, २७ साउन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ।
उत्पादित वस्तुमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर बिक्री कक्ष सञ्चालन गर्न लागिएको हो। बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ।

खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा क्रियाशील कम्पनीले बिहीबार आफ्नो सातौँ वार्षिकोत्सव मनाउँदै छ।
सिंहदरबार परिसरमा सञ्चालन हुने बिक्री कक्षबाट कम्पनीका विभिन्न उत्पादन सर्वसुलभ दरमा खरिद गर्न सकिने कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो।
कम्पनीले चामल, दाल, तेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तुका साथै चिनो, कागुनो, फापर, सिमीलगायत स्थानीय तथा रैथाने बालीबाट उत्पादित खाद्यवस्तुसमेत बिक्री गर्दै आएको छ।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका अनुसार ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्। ती पसलबाट उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गर्दा प्रतिकिलो तथा प्रतिलिटर रु। ५ छुट पाउनेछन्।
कम्पनीले चाडपर्व तथा विशेष अवसरमा उपभोक्तालाई सहुलियत दरमा अत्यावश्यक खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।



