
झापा, ३० साउन । देशभर मनसुन सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, आज राति देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेससहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन आग्रह गरिएको छ।


