
झापा, ३० साउन । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीले दाम्पत्य जीवनमा प्रेम, सुख र सौभाग्यको कामना गर्दै मनाउँदै आएको मधुश्रावणी पर्व आज समापन गर्दैछन्।
साउन कृष्ण पञ्चमीका दिन सुरु भएको पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने मैथिल परम्परा छ। पर्वमा भगवान् शिव, देवी गौरी ९पार्वती० र विषहराको पूजा आराधना गरिन्छ।
पर्व अवधिमा नवविवाहिताहरू सामूहिक रूपमा भेला भई गीत गाउने, हासपरिहास गर्ने तथा ‘फूललोढी’ विधिबाट फूल तथा बेलपत्र संकलन गरी पूजाआजा गर्ने गर्छन्।
पर्वको १२औँ दिन राति ‘टेमी’ विधिअन्तर्गत घुँडामा बत्तीको लप्काले डाम्ने परम्परा रहे पनि पछिल्ला वर्षमा नयाँ पुस्ताले यसको सट्टा चन्दनको लेप लगाउने चलन बढेको छ।
मधुश्रावणी पर्वले नवविवाहिताको दाम्पत्य प्रेम, पारिवारिक सद्भाव र मैथिल संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएको मैथिल लोकसंस्कृतिका जानकारहरूको भनाइ छ।
पर्व समापनसँगै बर्तालुले पर्व अवधिभरि पूजा गरिएका फूल तथा बेलपत्र पवित्र नदी वा तलाउमा विसर्जन गर्ने परम्परा रहेको छ।


