
झापा, ३१ साउन। साउन शुक्ल तृतीयासँगै मिथिला क्षेत्रमा प्रसिद्ध झुलनोत्सव सुरु भएको छ। पर्व सुरु भएसँगै महोत्तरीसहित मिथिला क्षेत्रमा झुलागीत र भजन गुञ्जिन थालेका छन्।
झुलनोत्सवमा राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर भक्तिगीत गाउँदै झुलाउने गरिन्छ। साउन पूर्णिमाका दिन समापन हुने यो पर्व मिथिलाको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ।
पर्वका अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर, रामजानकी तथा राधाकृष्ण मन्दिर र विभिन्न वैष्णव मठमा विशेष झुला महोत्सव आयोजना गरिएको छ। मटिहानीमा शनिबार लक्ष्मीनारायणका प्रतिमालाई डोलीमा राखेर झुलाघर पुर्याएपछि औपचारिक रूपमा पर्व सुरु गरिएको हो।
झुला उत्सवमा मैथिल लोकलयका झुला, मलार र कजरी गीत गाउने तथा भजनकीर्तन गर्ने परम्परा छ। यो पर्व जनकपुरधामको जानकी मन्दिरसहित मिथिला क्षेत्रका विभिन्न मठमन्दिरमा विशेष उत्साहका साथ मनाइन्छ।


