
भोजपुर, ३१ साउन। पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी र खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक पशुपालनमा जोडिएका हुन्।
गाउँपालिका–४ बास्तिमकी बर्तमाया राईले अनुदानबाट खोर निर्माणसँगै उन्नत जातका १० वटा बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक पालन सुरु गरेकी छन्। अनुदानले किसानलाई प्रारम्भिक लगानी जुटाउन सहज भएको र पशुपालनतर्फ आकर्षण बढेको स्थानीय किसान जयमारानी राईले बताइन्।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार कार्यक्रमअन्तर्गत वडा नं. ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि अनुदान दिइएको छ। गत आर्थिक वर्षमा रु। ३० लाख बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा रु। ६० लाख बराबरका कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमबाट २० वटा बङ्गुर र एउटा बाख्रा फर्मलाई अनुदान दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पशुपालन तथा कृषिमा आधारित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन्।


