निशान निरौला
इलाम, १ भदौ । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा पुगेको र अहिले टालटुल गरेर राखिएको छ।
कन्याम चिया बगानका स्टाफ होमप्रसाद रिजालका अनुसार तत्कालीन राजपरिवारको पालामा राखिएको उक्त शिलालेख समयक्रममा फुटेर टुक्राटुक्रा भएको थियो। फुटेका टुक्राहरू कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको उहाँले बताउनुभयो।

“वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो। पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भन्नुभयो, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू ल्याएर जोडजाड गरेर राखिएको छ।”
शिलालेख संरक्षणका लागि कम्पनीले केही मजदुर परिचालन गरी सिमेन्टलगायत सामग्री प्रयोग गरेर टालटुल गरी खडा गरे पनि त्यस वरपर घेराबेरा भने गरिएको छैन। शिलालेखलाई व्यवस्थित रूपमा संरक्षण गर्न कम्पाउन्ड वा घेराबेरा आवश्यक रहेको रिजालको भनाइ छ।
“कम्पनीले आफ्नोतर्फबाट टालटुल गरेर राखेको छ। तर त्यहाँ घेराबेरा छैन। अब यसलाई संरक्षण गरेर राख्नका लागि घेराबेरा गरिनुपर्छ,” उहाँले भन्नुभयो।
ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र चिया बगान कम्पनीबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो। कन्यामको पर्यटन प्रवर्द्धनसँगै यहाँ रहेका ऐतिहासिक संरचना तथा शिलालेखको संरक्षणमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

यसअघि स्थानीय टेकराज गिरीले कन्याम चिया बगान स्थापना हुँदाका समयमा तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यले विसं २०२८ सालमा वृक्षरोपण गरेको पहिलो चियाको बोट ‘मदर बुश’ समेत काटेर मासिएको बताउनुभएको थियो।
गिरीले ऐतिहासिक शिलालेख फुटाएर वा मेटाएर कन्यामको इतिहास मेटाउन नसकिने भन्दै ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
कन्यामलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार गरिरहँदा यसको प्राकृतिक सुन्दरतासँगै राजपरिवार, चिया बगान र पुराना संरचनासँग जोडिएको ऐतिहासिक पक्षको समेत संरक्षण गर्नुपर्ने स्थानीयको माग छ। उनीहरूले कन्यामका ऐतिहासिक सम्पदाको अभिलेखीकरण, संरक्षण र प्रचारप्रसारमा स्थानीय सरकार तथा सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने बताएका छन्।



