
निशान निरौला
इलाम, ३ भदौ । हिकेस राईको निर्देशनमा तयार भएको ‘यो आँखाले’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ। गायक तथा संगीतकार पवित्र गुरुङको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा इलामका चर्चित कलाकार मुकेश गुरुङ र सिकुम्मा लिम्बूको मुख्य अभिनय रहेको छ।
पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा सम्पूर्ण छायांकन गरिएको भिडियोमा अन्तुका रमणीय चियाबारी, प्राकृतिक सौन्दर्य तथा पर्यटकीय दृश्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
भिडियोमा मुकेश गुरुङ र सिकुम्मा लिम्बूको जीवन्त अभिनयसँगै आकर्षक अनस्क्रिन केमेस्ट्री देख्न सकिन्छ। गीतको भाव र अन्तुको प्राकृतिक सौन्दर्यलाई संयोजन गरेर तयार पारिएको भिडियोले दर्शकलाई मनोरञ्जनसँगै अन्तुको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘यो आँखाले’ म्युजिक भिडियो पवित्र गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले गीत तथा भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।


