
झापा, ३ भदौ । सरकारले उपभोक्ता र उद्योगलाई सहुलियत दिन बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा विद्युत् महसुल पुनरावलोकन गर्न गठित समितिले आज बैठक गर्दैछ। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ प्रतिनिधि छन्।
वर्षायाममा विद्युत् उत्पादन बढेर खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै ‘सिजनल ट्यारिफ’मार्फत बिजुली सस्तो बनाएर आन्तरिक खपत बढाउने तयारी गरिएको शाहीले बताउनुभयो। उद्योगलाई समेत सहुलियत दिई त्यसको लाभ उपभोक्तासम्म पुर्याउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।
समितिले महसुल घटाउने उपायबारे छलफल गरी छिट्टै निर्णय गर्ने तयारी गरेको छ।


