
बिर्तामोड, ५ भदौ । समाज परिवर्तनसँगै नागरिकका आवश्यकता, प्राथमिकता र सरोकारका विषय पनि बदलिँदै गएका छन् । यही उद्देश्यलाई आत्मसात गर्दै झापाबाट प्रकाशित हुँदै आएको ‘सुखानी सन्देश’ साप्ताहिकले अब मासिक म्यागेजिनका रूपमा नयाँ यात्रा शुरु गरेको छ ।
२०७९सालबाट प्रकाशन प्रारम्भ गरेको ‘सुखानी सन्देश’ले आफ्नो प्रकाशन यात्राका क्रममा स्थानीय समाजका विविध विषय, समस्या, सम्भावना र उपलब्धिलाई प्राथमिकताका साथ उठाउँदै आएको थियो । यस अवधिमा पत्रिकाले तीन वटा विशेषांकसमेत प्रकाशन गरिसकेको छ । पाठकको रुचि, समयको माग र स्थानीय विषयवस्तुको गहिराइलाई ध्यानमा राख्दै साउन महिनाबाट ‘सुखानी सन्देश’ मासिक रुपमा प्रकाशन हुन थालेको सम्पादक राजु पाठकले जानकारी दिए ।
मासिक म्यागेजिनको पहिलो अंकमा १७ वटा विषयसूची समेट्दै ५२ पृष्ठमा खोजमूलक तथा विश्लेषणात्मक सामग्री प्रस्तुत गरिएको छ । नियमित समाचारभन्दा फरक ढङ्गले स्थानीय समाजसँग प्रत्यक्ष जोडिएका विषयमा खोज, विश्लेषण, विचार, संवाद, अनुभव, सफलता र चुनौतीका कथालाई प्राथमिकता दिइएको छ । पत्रिकाका सम्पादक पाठकले प्रकाशनलाई थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउँदै विषयवस्तुलाई सहज तथा गहन ढङ्गले पाठकमाझ पु¥याउने उद्देश्यले साप्ताहिक प्रकाशनलाई मासिक म्यागेजिनमा रूपान्तरण गरिएको बताए ।
उनका अनुसार मासिक प्रकाशनको उद्देश्य केवल प्रकाशनको स्वरूप परिवर्तन गर्नु नभई सामग्रीको गुणस्तर, विषयको गहिराइ र प्रस्तुतिको शैलीमा समेत नयाँ अभ्यास सुरु गर्नु हो । स्थानीय समाजका महत्वपूर्ण विषयलाई खोजमूलक ढङ्गले प्रस्तुत गर्दै नागरिकका वास्तविक आवाजलाई प्राथमिकता दिने प्रयास गरिएको उनले बताए । ‘सुखानी सन्देश’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयभन्दा स्थानीय नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।
पत्रिकाले आफ्नो यात्रालाई कुनै एक व्यक्ति, संस्था वा समूहको मात्र नभई स्थानीय समाज, पाठक, लेखक, पत्रकार, शुभेच्छुक, विज्ञापनदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैको साझा यात्राका रूपमा लिएको छ ।


