
झापा, ६ भदौ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। विशेषगरी कोशी र नारायणी बेसिनका नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।
शनिबार बिहान ८ बजे जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू सतर्कता तहभन्दा तल बगिरहेका छन्। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सतर्कता तहभन्दा तल रहेको छ।
आगामी तीन दिन कोशी बेसिनका दूधकोशी, तामाकोशी, सुनकोशी, तमोर, अरुणलगायत नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। त्यस्तै, नारायणी बेसिनअन्तर्गत नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा पनि जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।
कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा भने बहाव सामान्य बढ्ने अनुमान गरिएको छ।
ठूला नदीबाहेक देशका विभिन्न जिल्लाबाट बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। शनिबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटी आसपासका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेश भएर बहने केही साना नदीमा समेत बहाव आकस्मिक रूपमा बढ्न सक्छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।


