झापा, ७ भदौ । झापा जिल्लाको झापा गाउँपालिका–५ स्थित वडा कार्यालयमा चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको ल्यापटपसहितका केही सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार भदौ ५ गते राति झापा गाउँपालिका–५ को वडा कार्यालयको पछाडिपट्टिको झ्यालको सिसा फुटाएर चोर कार्यालयभित्र प्रवेश गरेको थियो । चोरले कार्यालयका कोठामा रहेका एक थान ल्यापटप, दुई थान मोनिटर, एक थान स्क्यानर, दुई थान पेनड्राइभ र एक थान डिजिटल फिङ्गर प्रिन्ट रिडर चोरी गरेको थियो। चोरी भएका सामानको मूल्य करिब २ लाख ५५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे भदौ ६ गते जिल्ला प्रहरी कार्यालय झापामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय झापा गाउँपालिका तथा सम्बन्धित प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले २० वर्षीय अर्जुन गणेशलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका गणेशमाथि सोधपुछ तथा अनुसन्धान गर्दा उनले चोरी गरेको ल्यापटप भारतको किसनगन्ज जिल्लामा लगेर बिक्री गरिसकेको र बाँकी सामान झापा गाउँपालिका क्षेत्रमा लुकाइछिपाइ राखेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा दुई थान कम्प्युटर मोनिटर, एक थान स्क्यानर, दुई थान पेनड्राइभ र एक थान डिजिटल फिङ्गर प्रिन्ट रिडर बरामद गरेको छ। पक्राउ परेका गणेशमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



