झापा, ९ भदौ । अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मेची राजमार्गअन्तर्गत इलाम खण्ड, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक खण्ड तथा जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टे क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण सडक सञ्चालनमा आउन सकेको छैन ।

यस्तै, बागमती प्रदेशका बीपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । ती सडकमा बिहान ५ बजेपछि सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ ।
यसैगरी, भोजपुरको मध्यपहाडी लोकमार्ग र बागलुङको कालीगण्डकी करिडोरमा पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ ।सुरक्षा निकाय र सडक विभागले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन् । प्रहरीले यात्रुहरूलाई यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था र मौसमबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।



