
झापा, १० भदौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई २०८३ साल साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
डीएसपी हमालले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा विभिन्न समुदायका व्यक्तिबीच झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नियन्त्रणमा डीएसपी हमालको नेतृत्वमा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको थियो । प्रहरीले साउन २७ गतेसम्म उक्त क्षेत्रमा निरन्तर परिचालन भई संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन र जनशक्ति परिचालनमार्फत सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा हुनसक्ने आगजनी, तोडफोड तथा थप जनधनको क्षति रोक्न सफल भएको थियो ।
घटनामा मृत्यु भएका व्यक्तिको दाहसंस्कारका क्रममा समेत प्रहरीले उचित सुरक्षा प्रबन्ध मिलाएको थियो । डीएसपी हमालको नेतृत्वमा भएको सुरक्षा व्यवस्थापनका कारण देवानगञ्ज क्षेत्रमा थप हिंसा तथा जनधनको क्षति हुन नदिइएको प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी, इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर २३ दशमलव १३ ग्रामसहित उल्लेख्य संख्यामा कारोबारी पक्राउ गर्न पनि डीएसपी हमाल सफल भएका छन् । विभिन्न स्थानबाट भन्सार छली ल्याइएका कपडालगायत खाद्यान्न सामग्री बरामद गरी भन्सार कार्यालय सुनसरीमा दाखिला गराउने कार्यमा समेत उनको नेतृत्व प्रभावकारी रहेको जनाइएको छ ।
प्रहरी संगठनले दिएको जिम्मेवारीलाई अनुशासित, व्यावसायिक तथा कर्तव्यनिष्ठ ढङ्गले उच्च मनोबलका साथ सम्पादन गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय भूमिका खेलेको मूल्याङ्कनका आधारमा उनलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


