झापा, ११ भदौ । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने भन्दै विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
बुधबार बिहान करिब ९ बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढेको थियो। बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा समेत ठूलो क्षति पुगेको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले प्रारम्भिक अध्ययनमा उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण बाढी आएको हुनसक्ने बताएका छन्।
भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानसहितको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुनसक्ने देखिएको छ। त्यसबाट अचानक ठूलो बहाव सिर्जना भई पानी, गेग्रान र ठूला ढुङ्गा तल्लो तटीय क्षेत्रमा बगेको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।
जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ। गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमै करिब नौ मिटर बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ।
बाढीका क्रममा त्रिशूली नदी किनारमा रहेका धेरै पानी मापन केन्द्र क्षतिग्रस्त भएका वा बगाएका छन्। यद्यपि, गल्छीस्थित पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ।
विज्ञहरूले गेग्रानका कारण नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनिएर पहिरो बाँध (ल्यान्डस्लाइड ड्याम) बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। यस्तो अवरोध बनेको भए त्यसका कारण जम्मा भएको पानी अचानक बाहिर निस्कँदा दोस्रो चरणको बाढीको जोखिम हुनसक्ने उनीहरूको भनाइ छ।
सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन्।
यसैबीच, विपद्का समयमा रेकर्ड गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणमा असामान्य सङ्केत पहिचान भएको छ। प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो। झाङ्मुस्थित अर्को केन्द्रले पनि असामान्य गतिविधि रेकर्ड गरेको जनाइएको छ।
वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने विषयमा अध्ययन गरिरहेका छन्। तर हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित नभएको उनीहरूले स्पष्ट पारेका छन्।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको बाढीबाट ध्वस्त भएको रसुवाको यही क्षेत्र फेरि जोखिममा परेको बताउँदै ल्हेन्दे खोलामा आएको बाढीको सम्भावित कारण हिमपहिरो हुनसक्ने उल्लेख गरेका छन्।
उनका अनुसार नेपाल–चीन सीमास्थित नदीको माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले दोस्रो बाढी आउन सक्ने जोखिम छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेशसमेत जारी गरिएको उनले बताएका छन्।
बाढीका कारण प्रभावित क्षेत्रमा जलविज्ञान मापन केन्द्रलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। भोटेकोशी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत् आयोजना रहेकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने बताइएको छ।
इसिमोडका वरिष्ठ क्रायोस्फियर विशेषज्ञ मोहम्मद फारुक आजमले हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता क्रायोस्फियरसँग सम्बन्धित जोखिमको आवृत्ति बढ्दै गएको बताएका छन्।
उनले जलवायु तथा हिमाली क्षेत्रमा परिवर्तनको गति तीव्र रहेकाले विद्यमान प्रयासहरूले त्यससँग जुध्न चुनौती भइरहेको बताए। ल्हेन्दे खोलाको घटनाले सीमापार जोखिमको सामना गर्न नेपाल र चीनबीच अझ बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
इसिमोडका विज्ञहरूले घटनाको वास्तविक कारण र तल्लो तटीय समुदायमा जारी जोखिम बुझ्न जलविज्ञान, भूकम्पीय तथ्याङ्क, रिमोट सेन्सिङ तथा स्थलगत सूचनाको विश्लेषण जारी राखेका छन्। इसिमोडले नेपाल सरकार, वैज्ञानिक संस्था तथा चीनका साझेदार संस्थासँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जनाएको छ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले अचानक र अप्रत्याशित रूपमा आएको विपद्बाट आफूहरू मर्माहत भएको जनाउँदै नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले प्रभावित तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
वैज्ञानिकहरूले हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँको अवस्था, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको भू–सतह) तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको भए पनि रसुवामा भएको यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने निष्कर्षमा अहिले नै पुग्न हतार हुने बताएका छन्।



