झापा, ११ भदौ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा करिब सात हजार कुखुराको पोष्टमार्टम गरी विभिन्न रोग पहिचान गरेको छ । झापासहित १६ जिल्लाका किसानले पालेका कुखुराको पोष्टमार्टम तथा नमुना परीक्षणबाट विभिन्न रोगको सङ्क्रमण पत्ता लागेको हो ।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएका छन् । प्रयोगशालाले पोष्टमार्टमसँगै रोग पहिचानका लागि नमुना परीक्षणसमेत गर्दै आएको छ ।

१ हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग देखिएको श्रेष्ठले जानकारी दिनुभयो । परीक्षण गरिएका नमुनामध्ये २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र नौ प्रतिशतमा कुखुराको घ्यारघ्यारसम्बन्धी रोग (सीआरडी) देखिएको छ । त्यस्तै, ढुसीजन्य रोग नौ प्रतिशत, सीसीआरडी चार प्रतिशत र साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशतमा देखिएको उहाँले बताउनुभयो ।
प्रयोगशालाका अनुसार कुखुरामा एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आईबी र रानीखेतको सङ्क्रमणसमेत भेटिएको छ । द्रुत परीक्षणअन्तर्गत २७८ नमुना परीक्षण गर्दा ४७ वटामा एभियन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको छ । यस्तै, १७६ वटा गम्बारो परीक्षण गर्दा १०९ वटामा सङ्क्रमण पुष्टि भएको छ ।
रानीखेतका ९९ नमुना परीक्षण गर्दा सात वटामा तथा आईबीका ४६ नमुना परीक्षण गर्दा दुई वटामा सङ्क्रमण देखिएको श्रेष्ठले बताउनुभयो । पीसीआर विधिबाट ३६९ नमुना परीक्षण गर्दा १२ वटामा साल्मोनेला सङ्क्रमण भेटिएको छ । ३६० नमुना परीक्षण गर्दा १६ वटामा माइकोप्लाज्मा तथा एलाइजा परीक्षण गरिएका १८४ नमुनामध्ये ३८ वटामा माइकोप्लाज्मा सङ्क्रमण देखिएको छ ।
त्यस्तै, १८४ नमुना परीक्षण गर्दा ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सीआईएभी) को सङ्क्रमण देखिएको प्रयोगशालाले जनाएको छ । नौ सय कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएका कुखुरामा कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्नेबारे सेवाग्राहीलाई आवश्यक जानकारी दिइएको श्रेष्ठले बताउनुभयो ।
कुखुराजन्य रोगको सङ्क्रमण रोक्न जैविक सुरक्षा (बायोसेक्युरिटी)मा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कुखुरापालनमा जैविक सुरक्षा अपनाउन नसक्दा विभिन्न रोगको जोखिम बढ्ने भएकाले किसानले सरसफाइ, खोर व्यवस्थापन र रोग नियन्त्रणका उपायमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।



