
झापा, १४ भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका बेपत्ता भएका १६७ जनामध्ये हालसम्म १४५ जना अझै सम्पर्कविहीन रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार कुल १६७ जनामध्ये २१ जना मात्र सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये २ जनाको उद्धार गरिएको छ भने १ जना घाइते अवस्थामा भेटिएका छन् । बाढीका कारण इलाम घर भएका एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बाढीबाट सबैभन्दा बढी सोलुखुम्बुका नागरिकहरू प्रभावित भएका छन् । सोलुका कुल ४२ जनामध्ये ३९ जना अझै सम्पर्कविहीन छन् । यस्तै, उदयपुरका १६, मोरङका १६ र सुनसरीका १६ जना अझै सम्पर्कमा आउन बाँकी छन् ।
यस्तै झापाका १०, इलामको ९, खोटाङको १०, ओखलढुंगाका १९, ताप्लेजुङका २ जना सम्पर्कविहीन छन् । यस्तै पाँचथर र सङ्खुवासभाका क्रमशः १ र ३ जना अझै सम्पर्कविहीन हुँदा भोजपुर र धनकुटाका क्रमशः ३ र २ जना सम्पर्कविहीन छन् ।
तथ्याङ्क अनुसार तेह्रथुमका भने कोही पनि बेपत्ता भएको देखिएको छैन । हाल सम्पर्कमा नआएका १४५ जनाको खोजी कार्य जारी रहेको र सुरक्षा निकाय तथा स्थानीय प्रशासनले उद्धार र खोजीलाई तीव्रता दिएको बताइएको छ ।


