झापा, १४ भदौ । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
यसअघि भदौ १० गते आएको अकल्पनीय बाढीबाट आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः बाढी आएपछि थप डर र त्रास उत्पन्न भएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

ठूलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटभन्दा निकै माथि रहेको धुञ्चेका बासिन्दासमेत माथिल्लो क्षेत्रमा रहेको अस्पताल परिसर तथा खेलमैदानमा एकीकृत भएर बसेका थिए । अहिले नदीमा पानीको बहाव घट्न थालेपछि स्थानीयवासी आ–आफ्नो घरतर्फ फर्किन थालेका छन् ।
बाढी आएको जानकारी पाएलगत्तै छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरिएको र नुवाकोट प्रशासनले स्थानीयवासीलाई सावधानी अपनाउन ‘माइकिङ’ गरेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।
यसैबीच, आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढी प्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको छ । पुनः आएको बाढीबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।



