झापा, १० कात्तिक । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ। सोमबार तोलामा ३ हजार रुपैयाँले बढेको सुनको भाउ मंगलबार थप ८ सय रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ रहेको थियो।

गत आइतबार भने सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको थियो। त्यसपछि लगातार दुई दिन मूल्य बढेसँगै सुनको बजारमा पुनः उतारचढाव देखिएको छ।
यसैबीच, चाँदीको मूल्य भने मंगलबार घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको थियो।
नेपाली बजारमा सुनको मूल्यले गत माघ १५ गते ऐतिहासिक रेकर्ड कायम गरेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।
यसअघि गत माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा एकै दिन आएको यो गिरावटसमेत हालसम्मकै ठूलो गिरावटका रूपमा उल्लेख गरिएको छ।
सुनचाँदीको मूल्यमा हुने दैनिक उतारचढावले उपभोक्ता, गहना व्यवसायी तथा लगानीकर्तालाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।



