
भद्रपुर, १६ भदौ । झापा जिल्लाको सदरमुकाम नगरमा ऐतिहासिक भद्रपुर पुस्तकालय पुनः सक्रिय भएपछि दुई पुस्ताका स्रष्टाका कृति एकै समारोहमा सार्वजनिक गरिएको छ । भद्रपुर पुस्तकालयद्वारा आयोजित एक समारोहका बीच लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवयित्री सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ को लोकार्पण गरिएको हो ।
यही भदौ १३ गते चन्द्रगढीस्थित वीरेन्द्र मावि.को सभाकक्षमा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि र कार्यक्रमका सभापति भद्रपुर पुस्तकालयका अध्यक्ष चिन्तामणि दाहाल, विशिष्ट अतिथि समालोचक कविराज न्यौपाने, वरिष्ठ सञ्चारकर्मी एवम् गीतकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, स्रष्टा लताका माता–पिता र सासू–ससुराबाट कृतिको लोकार्पण गरिएको थियो ।
गजलकार केशव आचार्य, समालोचक डा. रत्नमणि नेपाल, मुक्तककार बाबुराम पोखरेल, केशु विरही लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा नेपाली साहित्यको विभिन्न विधामा लामो समयदेखि योगदान दिने साहित्यकारहरू विवश पोखरेल, केशव आचार्य र डा.रत्नमणि नेपाललाई दोसल्ला ओढाउँदै फूलमालाका साथ सम्मान–पत्र अर्पण गरिएको थियो ।
लोकार्पित कृतिमध्ये १८८ वटा मुक्तक समाविष्ट ‘शिशिरको जून’को समीक्षा चूडामणि वशिष्ठले र ३० वटा कविता रहेको ‘आभा’ को समीक्षा नमूना निरौला दाहालले गरेकी थिइन् । दुबै स्रष्टा आमा–छोरी हुन् भने प्रकाशक विक्रम फुयल लताका श्रीमान् र कक्षा–१० मा अध्ययनरत बालकवयित्री सफलताका पिता हुन् ।
कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले– भद्रपुर पुस्तकालयको नवगठित कार्यसमिति सक्रिय भएको छोटो समयमै अग्रसरता लिएर एकै पटक दुई पुस्ताका स्रष्टाका कृति सार्वजनिक गर्ने कार्यक्रम आयोजना गर्नुले स्थानीय साहित्यिक गतिविधिलाई थप ऊर्जा मिलेको धारणा राख्दै पुस्तकालय परिवारलाई धन्यवाद दिएकी थिइन् ।
झापाका विभिन्न क्षेत्रका साथै बिराटनगर, इलाम, हेटौंडा र काठमाडौंबाट पनि साहित्यकारहरूको सहभागिता रहेको लोकार्पण कार्यक्रमको सञ्चालन लीला अनमोल र तुलसीराम खरेलले तथा सहजीकरण महेन्द्र कोइराला र यशोदा कँडेल कोइरालाले गरेका थिए ।
दुई पुस्ताका स्रष्टाका कृति एकै मञ्चबाट सार्वजनिक हुनुले भद्रपुरको साहित्यिक गतिविधिमा नयाँ पुस्ताको सहभागिता र पुस्तान्तरणको सम्भावनालाई समेत बल पु¥याएको महसूस गरिएको छ ।


