
काठमाडौँ, १७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई जलवायु सम्पदाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै बजेटमा हिमाललाई विश्वव्यापी जलवायु सम्पदाका रूपमा व्याख्या गरी संरक्षणका लागि अन्तर्राष्ट्रिय पहल गर्ने बताउनुभयो ।
मन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले क्षति व्यहोर्नुपरे पनि नेपालका पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको जानकारी प्रवाह गरी पर्यटकको विश्वास कायम गर्नुपर्ने बताउनुभयो ।
रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफलमा सांसदहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विपद्बारे नकारात्मक र भ्रामक सूचना प्रवाह रोक्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले हालसम्म बाढी प्रभावित २ सय ८९ पर्यटकको उद्धार भएको जानकारी दिँदै सम्पर्कविहीन पर्यटकहरूको खोजी, उद्धार तथा पुनःस्थापनाको प्रगति विवरण पर्यटन बोर्ड, विभाग र मन्त्रालयका वेबसाइटमार्फत नियमित रूपमा सार्वजनिक भइरहेको जानकारी दिनुभयो ।
यस्तै प्रतिनिधिहरूले विपद्को समयमा समेत विभिन्न देशका राजदूतावासमा राजदूत नहुँदा असहज भएको बताउँदै रिक्त रहेका स्थानमा राजदूत नियुक्ति गरी अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध सुदृढ गर्न सुझाव समेत दिनुभयो ।


