बुधबारे, २८ भदौ । विद्यार्थीमा सामान्य ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै भविष्यमा लोकसेवा आयोगलगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाप्रति रुचि बढाउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकास्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ।
बुद्धशान्ति गाउँपालिका–१ को सहकार्यमा बुधबारे जेसीजले प्रतियोगिता आयोजना गर्न लागेको हो। वडा कार्यालयले शिक्षा तथा युवा लक्षित कार्यक्रमअन्तर्गत बजेट व्यवस्थापन गरेपछि प्रतियोगिताको आयोजना तथा व्यवस्थापनको जिम्मेवारी बुधबारे जेसीजले लिएको हो।


प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाभित्रका सामुदायिक तथा निजी माध्यमिक विद्यालयको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारीले जानकारी दिनुभयो।
जेसीज सप्ताहअन्तर्गत प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो।
विद्यार्थीमा विद्यालय तहदेखि नै सामान्य ज्ञान, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउँदै भविष्यमा लोकसेवा आयोग र अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि आधार तयार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो।
उहाँका अनुसार विद्यार्थीलाई विभिन्न प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी गराउँदै उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले वडा कार्यालयले शिक्षा तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।
“विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै विभिन्न प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी गराउँदै उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले वडा कार्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको हो। स्थानीयस्तरमा सक्रिय संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्दा अझ प्रभावकारी हुने भएकाले बुधबारे जेसीजसँगको सहकार्यमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागिएको हो,” वडाध्यक्ष वाग्लेले भन्नुभयो।
वडा कार्यालयसँगको सहकार्यमा विद्यार्थी तथा युवालाई लक्षित कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बुधबारे जेसीजका अध्यक्ष अधिकारीले बताउनुभयो। उहाँले वडा कार्यालयले शिक्षा तथा युवा विकासका क्षेत्रमा गरेको लगानीलाई कार्यक्रममार्फत विद्यार्थी तथा युवासम्म पुर्याउन जेसीजले भूमिका निर्वाह गर्ने बताउनुभयो।

“स्थानीय तह र युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा काम गर्ने संस्थाबीचको सहकार्यले समुदायमा सकारात्मक परिणाम दिन सक्छ। वडा कार्यालयले उपलब्ध गराएको स्रोत र अवसरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काममा जेसीजले आफ्नो क्षमता र जनशक्ति परिचालन गर्दै आएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो।
वडा कार्यालय र बुधबारे जेसीजबीच शिक्षा, युवा तथा नेतृत्व विकासका क्षेत्रमा आगामी दिनमा समेत आवश्यकताअनुसार सहकार्य गर्दै अघि बढ्ने समझदारी रहेको जनाइएको छ।
शिक्षा सुधारमा वडा नं. १ को प्राथमिकता
शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै बुद्धशान्ति गाउँपालिका–१ ले विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
वडाका सामुदायिक विद्यालयमा सिकाइस्तर कमजोर भएका विद्यार्थीलाई लक्षित गरी बिहानको समयमा नौ स्थानमा अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। त्यसका लागि नौ जना शिक्षक छनोट गरी १०० दिने ‘क्लोज क्याम्प’ सञ्चालन गरिनेछ। यस कार्यक्रमका लागि वडा कार्यालयले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
त्यसैगरी वडाभित्रका दुई सामुदायिक विद्यालयमा हरेक महिना कक्षागत उत्कृष्ट विद्यार्थी छनोट गर्ने व्यवस्था गरिएको छ। विद्यालयमा अतिरिक्त क्रियाकलापलाई समेत अनिवार्य गरिएको वडा कार्यालयले जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीमा अध्ययनप्रतिको रुचि, आत्मविश्वास र उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वडाका दुई स्थानमा गुरुकुल शिक्षासमेत सञ्चालनमा रहेका छन्। गुरुकुल शिक्षालाई संस्कार, अनुशासन र मौलिक ज्ञानसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा अघि बढाइएको वडा कार्यालयले जनाएको छ।
युवाको क्षमता विकासमा पनि जोड
युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयले विभिन्न सीपमूलक तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष वाग्लेले जानकारी दिनुभयो।
यसैक्रममा वडा कार्यालयको समन्वयमा बुद्धशान्ति गाउँपालिकाभरिका युवाको सहभागितामा दुईदिने ‘लिडरसिप एकाडेमी’ तालिम हालै सम्पन्न भएको छ।
शिक्षा तथा युवा विकासलाई केन्द्रमा राखेर वडा कार्यालयको स्रोत, स्थानीय संघसंस्थाको अनुभव र युवाको सक्रियतालाई एकीकृत गर्दै अघि बढ्दा समुदायमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने विश्वास गरिएको छ।



