झापा, ३० भदौ । सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो परिचय दिँदै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गर्ने र दबाब तथा धाकधम्की दिने आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका–८ बस्ने २६ वर्षीय एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दिने गरेका थिए ।

सोही परिचयका आधारमा सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले आफू सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै विभिन्न व्यक्तिसँग परिचय दिने र सोही परिचयको दुरुपयोग गरी लाभ लिने वा अरूलाई हानि–नोक्सानी पुर्याएको हुनसक्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई सरकारी पद तथा जिम्मेवारी वास्तवमा नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि सम्मानित झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले निजबाट कसैलाई झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा हानि–नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ ।



