बोमलाल गिरी नवलपुर, भदौ ३० गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ पेलेगास्थित घाँगी भिरबाट निरन्तर बारुदजस्तो गन्ध आउने धुँवा निस्कन थालेपछि त्यसको अध्ययन गर्न सरकारी विज्ञ टोली आउने भएको छ। खानी तथा भूगर्भ विभागका विज्ञ प्रकाश लुइटेलको नेतृत्वमा मङ्गलबार अध्ययन टोली नवलपुर आउन लागेको हो। अध्ययन टोलीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को टोलीसमेत सहभागी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ।
सोमबार काठमाडौँको लाजिम्पाटस्थित धौवादी फलामखानी र खानी तथा भूगर्भ विभागमा नवलपुरका सांसद मनीष खनाल र राजन गौतमको टोली पुगेर धौवादी फलामखानी नजिकको पहाडबाट निस्किरहेको धुँवाको मुस्लोबारे जानकारी गराएको थियो। सोहीअनुसार विज्ञ टोली नवलपुर आउन लागेको हो।

पेलेगा गाउँबाट करिब पाँच सय मिटर दक्षिण–पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ। पेलेगा र भडारी गाउँको बिचमा पर्ने पहाडमा सानो पहिरो गएको स्थानबाट धुँवाको मुस्लो निस्कने र आगलागीसमेत हुने गरेको स्थानीयले बताएका छन्। लामो समयदेखि धुँवा निस्कनुका साथै वरपर डढेलोसमेत लागेपछि स्थानीय त्रसित बनेका छन्।
पहिरो गएको स्थानबाट धुँवा आउनुका साथै कहिलेकाहीँ ठुलो आवाजसमेत आउने गरेको स्थानीय दमबहादुर सोमै मगरले बताउनुभयो। स्थानीयले बस्तीमा खतरा हुन सक्ने भन्दै धुँवा निस्कनुको कारण तत्काल पत्ता लगाउन माग गरेका छन्। उनीहरूले त्यहाँ कुनै बहुमूल्य ग्यास वा धातुको खानी हुन सक्ने भन्दै त्यसबारे अनुसन्धान गर्न आग्रह गरेका हुन्।
धुँवा निस्किरहेको स्थानको तल्लो भागमा रहेको याल्ता खोलाको पानी फिटकिरीको स्वादजस्तो भएको र खोलाको किनारा पहेँलो देखिएको मगरले बताउनुभयो।
स्थलगत अवलोकनपछि हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उक्त स्थान वरपर यसअघि पनि यस्तै धुँवाको मुस्लो आउने गरेको भए पनि अहिले पहिलेभन्दा बढी धुँवा निस्किएको बताउनुभयो। उहाँका अनुसार धुँवाका कारण वरपरका काठ र जमिनसमेत पोलिएको छ।
‘‘हुप्सेकोट पालिका खानीको पालिका हो। धौवादीमा फलाम खानी पनि यही छ। अब हामी यो धुँवासँग सम्बन्धित कारण पनि पत्ता लगाएर यसको समाधानतर्फ लाग्नेछौँ,’’ अध्यक्ष पाण्डेले भन्नुभयो।
पहिरो गएको स्थानबाट करिब एक किलोमिटर उत्तरतर्फ पेलेगामा ३५ घरधुरीको बस्ती रहेको छ। यसरी पिरोजस्तो गन्ध आउने क्रम नरोकिएपछि जमिनमुनि ग्यास रहेको र विस्फोट हुन सक्ने हो कि भन्ने चिन्ता बढेको अध्यक्ष पाण्डेले बताउनुभयो।
नजिकै फलाम खानी
धुँवा निस्किएको क्षेत्रनजिकै धौवादी फलामखानी रहेको छ। सरकारले त्यहाँ फलामखानी सञ्चालन गरी फलाम तथा स्टिल उत्पादन गर्ने योजना बनाएको छ। सरकारले धौवादी फलाम कम्पनीसमेत स्थापना गरिसकेको छ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी धौवादी फलाम कम्पनी लिमिटेड २०७६ असोज ९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको हो। फलामखानीको भण्डार पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा रहेको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पश्चिम नाम्जाकोटदेखि पूर्व धौवादी क्षेत्रमा रहेको छ।
धौवादी फलाम कम्पनी लिमिटेडले फलामखानी उत्खननसम्बन्धी योजनासमेत तयार गरेको जनाएको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलामखानीबाट नौ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको हो।
खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। उक्त योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढाउने जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो।



