पाँचथर, ३१ भदौ । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारस्थित बराजु रंगशालामा यस वर्ष पनि परम्परागत रोपाइँ जात्रा तथा मेला–२०८३ हर्षोल्लासका साथ सम्पन्न भएको छ। बाल दिवसको अवसर पारेर आयोजना गरिएको मेलामा रोपाइँ जात्रासँगै खुला पुरुष तथा भेट्रान्स फुटबल प्रतियोगिता, ज्येष्ठ नागरिक दौड, नृत्यलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो।
रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको रोपाइँ जात्रा मेलाको मुख्य आकर्षण बनेको थियो। विभिन्न जातजातिको पहिचान झल्कने परम्परागत पोशाकमा सजिएका विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले राष्ट्रिय झण्डाको आकृति निर्माण गरी विभिन्न जातजातिको साझा फूलबारीको प्रतीकसमेत प्रस्तुत गरेका थिए।

फिदिम नगरपालिका–७ का वडाध्यक्ष रुपेन्द्र तामाङका अनुसार रानीटारमा वि.सं. २०३७ सालदेखि निरन्तर चल्दै आएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि रोपाइँ जात्रा आयोजना गरिएको हो।

बाल दिवसका अवसरमा विगतमा भदौ ४ गते मेला लाग्ने गरेको थियो। त्यतिबेला पाँचथरमा यो मेला ‘हिले जात्रा’का रूपमा समेत परिचित थियो। द्वन्द्वकालमा रोकिएको जात्रालाई पछि पुनः सञ्चालनमा ल्याइएको हो। गणतन्त्रपछि भने भदौ २९ गते आयोजना गर्न थालिएको रानीटार युनाइटेड क्लबका अध्यक्ष टंक गुरुङले जानकारी दिनुभयो। गत वर्ष जेनजी आन्दोलनका कारण मेला आयोजना हुन सकेको थिएन।
रानीटार माध्यमिक विद्यालयकी प्रधानाध्यापक गंगा राईका अनुसार विद्यार्थीलाई चार दिन प्रशिक्षण दिएर रोपाइँ जात्राका लागि तयार पारिएको थियो। जात्राले स्थानीय कला, संस्कृति र जातीय पहिचान संरक्षणमा समेत योगदान पुर्याउँदै आएको उहाँको भनाइ छ।
राँके फुटबल क्लबलाई पुरुषतर्फको उपाधि
रोपाइँ जात्रा मेलाको अवसरमा आयोजित खुला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि राँके फुटबल क्लबले जितेको छ।

सोमबार बराजु रंगशालामा भएको फाइनलमा जिल्ला प्रहरी कार्यालय पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै राँके फुटबल क्लब च्याम्पियन बनेको हो। राँकेका हिटेन सुहाङले दुई तथा कप्तान अनुकेश शेर्माले एक गोल गरेका थिए।
उपाधिसँगै राँके फुटबल क्लबले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता जिल्ला प्रहरी कार्यालय पाँचथरले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा पिटर गुरुङ राइजिङ प्लेयर अफ द म्याच, आयुस राई सर्वाधिक गोलकर्ता, प्रविन तामाङ उत्कृष्ट डिफेन्डर तथा दिपेश लिम्बू सर्वोत्कृष्ट खेलाडी घोषित भए।
भेट्रान्सतर्फ लभिज्म बुद्ध भेट्रान्स विजेता
भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि भने लभिज्म बुद्ध भेट्रान्सले जितेको छ। फाइनलमा न्यु सूर्यमुखी भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै लभिज्म बुद्ध भेट्रान्सले उपाधि हात पारेको हो।

विजेता टोलीले ३० हजार रुपैयाँ तथा उपविजेता न्यु सूर्यमुखी भेट्रान्सले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
रानीटार युनाइटेड फुटबल क्लबको आयोजनामा भदौ २५ गतेदेखि सुरु भएको खुला पुरुष तथा भेट्रान्स नकआउट फुटबल प्रतियोगिता भदौ २९ गते समापन भएको हो। पुरुषतर्फ आयोजकसहित १६ टोली र भेट्रान्सतर्फ चार टोली सहभागी थिए।
रानीटार युनाइटेड फुटबल क्लबका अध्यक्ष टंक गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा पाँचथर जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे प्रमुख अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा झापा–११ फुटबल क्लबका अध्यक्ष तथा बराजु रंगशालाका जग्गादाता जलकुमार गुरुङ, बक्सिङका पूर्वखेलाडी तथा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, समाजसेवी कुमार दाहाल, फिदिम–७ का वडाध्यक्ष रुपेन्द्र तामाङ, फिदिम–८ का वडाध्यक्ष सोमबहादुर गुरुङ, वडा सदस्य बलबहादुर राई, प्रेम गुरुङ तथा तमाखे प्रहरी चौकीका इन्चार्ज कटकबहादुर खड्कालगायतको उपस्थिति थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिले प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।



