झापा, ३१ भदौ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दुई प्रदेश सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन गर्न गठित कार्यदलको म्याद ६० दिन थप्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, कोशी प्रदेश सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम–२०८३ लाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालयमा लेखी पठाउने निर्णय बैठकले गरेको छ।
बैठकले रसुवाको भोटेकोशीमा भदौ १० गते गएको बाढीपछि राहत तथा पुनःस्थापनाका लागि मन्त्रिपरिषद् तथा मन्त्रिपरिषद् सचिवालयका पदाधिकारीहरूको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको मन्त्री शेर्पाले जानकारी दिनुभयो।



