झापा, ४ असोज । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र)का अनुसार भदौमा भारतको हरियाणा र बिहार राज्य तथा बंगलादेशमा द्विपक्षीय सम्झौतामार्फत र विद्युत् बजारमार्फत गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।

उक्त विद्युत् बिक्रीबाट प्राधिकरणले कुल ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ आम्दानी गरेको छ । भदौमा भएको कुल निर्यातमध्ये द्विपक्षीय सम्झौतामार्फतको हिस्सा बढी रहेको प्राधिकरणले जनाएको छ। विद्युत् बजारमार्फत पनि उल्लेख्य परिमाणमा विद्युत् निर्यात भएको थियो ।
तर, भोटेकोसीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । प्राधिकरणले अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशमा विद्युत् निर्यात पुनः सुरु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षसँग अनुरोध गरिसकेको जनाएको छ । प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।



