
बिर्तामोड, १७ असोज । नेपाली क्लोदिङ ब्रान्ड ‘चिनो’ले दशैँलाई लक्षित गर्दै बिर्तामोडमा आजदेखि चारदिने ‘वेयरहाउस सेल’ आयोजना गर्दैछ ।
सेलको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सेल सञ्चालन हुनेछ ।
सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका पहिरन छुट मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ। आफ्नै फ्याक्ट्रीबाट उत्पादन गरिएका कपडा सिधै ग्राहकसम्म पुर्याउने भएकाले तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने तयारी गरिएको कम्पनीको भनाइ छ।
सेल अवधिमा थोक तथा खुद्रा दुवै बिक्री गरिनेछ। कम्पनीका अनुसार ग्राहकले २ सय ९९ रुपैयाँदेखि १ हजार ४ सय ९९ रुपैयाँसम्मका विभिन्न प्रकारका कपडा खरिद गर्न सक्नेछन्।
पत्रकार सम्मेलनका क्रममा चिनो ब्रान्डका विभिन्न पहिरनमा मोडलहरूले र्याम्प वाकसमेत गरेका थिए।
चिनोले यसअघि सुनसरीको इटहरीमा पनि यस्तै वेयरहाउस सेल आयोजना गरेको थियो। कम्पनीका अनुसार उक्त सेलमा ४० हजारभन्दा बढी ग्राहक सहभागी भएका थिए। इटहरीमा प्राप्त प्रतिक्रिया र ग्राहकको मागलाई आधार बनाएर बिर्तामोडमा सेल आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीका निर्देशक राजेन्द्र डुम्रेले दशैँअघि नै सेल आयोजना भएकाले इटहरीको तुलनामा बिर्तामोडमा अझ बढी ग्राहकको उपस्थिति हुने अपेक्षा गरिएको बताए।
“दशैँअघि नै सेल लागेकाले इटहरीभन्दा बढी ग्राहक आउने अपेक्षा गरेका छौँ,” उनले भने। युवा पुस्ताले रुचाएको ब्रान्ड भएकाले बिर्तामोडको सेल पनि सफल हुने उनको दाबी छ।
“नेपालीका लागि नेपाली ब्रान्ड, अहिले यही कुरा हाम्रो मूलमन्त्र भएको छ,” डुम्रेले भने। चिनोका संस्थापक नवराज बजगाईंले नेपाली उत्पादनलाई विश्वस्तरीय बनाउन कम्पनीले निरन्तर काम गरिरहेको बताए। कुनै समय गार्मेन्ट क्षेत्रमा नेपाली उत्पादनले बनाएको पहिचानलाई पुनः स्थापित गर्ने उद्देश्यले चिनो अघि बढिरहेको उनको भनाइ छ।
हाल महिलाका पहिरनमा केन्द्रित कम्पनीले छिट्टै पुरुषका पहिरनसमेत उत्पादन गर्ने योजना बनाएको बजगाईंले जानकारी दिए।
कम्पनीका अनुसार चिनोले हाल करिब ७ सय जनालाई रोजगारी दिएको छ। रोजगारीमा रहेका मध्ये करिब ८० प्रतिशत महिला छन्। युवा पुस्तामा लोकप्रिय बन्दै गएको ब्रान्डले डिजाइनसँगै कपडाको गुणस्तरमा जोड दिँदै आएको जनाएको छ।
दशैँको किनमेल गर्ने ग्राहक तथा फेसनप्रेमीलाई लक्षित गरेर आयोजना गरिएको सेलमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ।


