धनुषा, ८ कात्तिक । धनुषामा पतिपत्नी मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा ३० वर्षीया रिनादेवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार रिनाका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि ससुराली घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका–४ भरतपुर घर भएका उमेश गएराति ससुराली घर पुगेका थिए। उनले पत्नीको हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको वास्तविक कारण भने खुलिसकेको छैन।
घटनामा उमेश र रिनाका चार वर्षीय छोरा सम्राट पनि घाइते भएका छन्। उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार उमेश केही महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



