झापा, ११ कार्तिक । झापाको झापा गाउँपालिका–२ सालमारा क्षेत्रबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब १२ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ बीआर ३७ एए ५३८० नम्बरको मोटरसाइकलमा आउँदै गरेका झापा गाउँपालिका–२ सालमारा निवासी ३६ वर्षीय नसीम अख्तर मियाँ र ३० वर्षीय सलमान मियाँलाई प्रहरीले शंकाका आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनीहरूले लगाएको कपडाभित्र लुकाइछिपाइ ल्याएको प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकबाहेक उक्त पदार्थको तौल १५० ग्राम १४० मिलिग्राम रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले उनीहरूलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीले जानकारी दिएका छन्।



