झापा, १२ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को सम्भावित प्रभावले देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढ्ने आकलन गरिएको छ। सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।

धान भित्र्याउने समयमा वर्षाको सम्भावना देखिएपछि प्रशासनले किसानलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। पाकेको धान तत्काल नकाट्न तथा काटिसकेको धान सुरक्षित र ओभानो स्थानमा भण्डारण गर्न आग्रह गरिएको छ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने प्रशासनको भनाइ छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक नभई लामो दूरीको यात्रा नगर्न र प्रतिकूल मौसममा सवारीसाधन चलाउँदा सावधानी अपनाउन भनिएको छ।
त्यसैगरी, आकस्मिक बाढी आउन सक्ने खहरे खोला तथा नदी आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले भ्रामक सूचना फैलाउने वा त्यसको पछि लाग्ने काम नगर्न र मौसमसम्बन्धी जानकारीका लागि आधिकारिक निकायबाट जारी हुने सूचना तथा पूर्वानुमानलाई आधार बनाउन पनि अनुरोध गरेको छ।
विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा
सम्भावित चक्रवातको प्रभावबाट हुने क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले बुधबार सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग आकस्मिक बैठक गरेको जनाएको छ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनधनको क्षति रोक्न आवश्यक सतर्कता अपनाइएको बताए। उनले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए।
सम्भावित वर्षा र बाढीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सर्वसाधारणलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन र विपद्का संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।



