झापा, १३ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा वर्षा सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने तथा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ। केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ।
धानबाली भित्र्याउने काम नगर्न आग्रह
सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न महाशाखाले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम प्रतिकूल हुने सम्भावना रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्नसमेत महाशाखाले अनुरोध गरेको छ।



