झापा, १६ कात्तिक । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक १५ गते सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उदयपुरको बेलका नगरपालिका–४ का नवीन राई र सुनिल राईलाई १७ ग्राम ३५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ बाट सोही स्थानका दीपक खवास पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई १९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, झापाको शिवसताक्षी नगरपालिका–९ स्थित यलम्बर चोकबाट स्थानीय बादल भनिने हेन्जिङ जबेगू पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनलाई एक ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।



